अर्थशास्त्र

अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धीको शिक्षा दिने एक बिषय (शास्त्र) हो । अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो । यो ग्रीक शब्द ओइकोनोमियाबाट बनेको छ । जसको अर्थ हुन्छ– घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर सन् १७७६ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन् । वेल्थ अफ् नेशन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरीका खोजी गर्नेे शास्त्र भनेका हुन् । [२] पछि विद्वान्हरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे । [३] तर पनि अठारौ“ शताब्दीभर यस विषयको नाम राजनीतिक अर्थशास्त्र नै रह्यो । [४] उन्नाइसौं शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ तर यस्ता कुराहरूको राजनीतिसंग बहुधा कुनै सम्बन्ध हुँदैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने ।[५] यसरी वेल्थ अफ् नेशन्सदेखि सोशल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई बीसौ शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो । यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ तर उनी आफैंले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन् ।[६]

Countries by GDP (Nominal) in 2014
आकार द्वारा संसारमा अर्थशास्त्रको नक्शा[१]

अर्थशास्त्रको शोध प्रस्ताव

शोध अनुसन्धानको प्रारम्भिक कार्य शोध प्रस्ताव प्रस्तुत गर्नु हो । यात्रा सुरु गर्नेले यात्राको संभावित विवरण तयार गरे जस्तै हो शोध प्रस्ताव । यो प्रस्ताव तोकिएको निकायले विधिवत् स्वीकृत गरेपछि मात्र शोध अनुसन्धानको वास्तविक कार्य सुरु हुन्छ । त्यसैले शोधको प्रारम्भिक बिन्दु शोध प्रस्ताव हो भन्न सकिन्छ । त्यसका विभिन्न भागहरू आपसमा अन्तर्सम्बन्धित हुन्छन् । शोध प्रस्ताव तयार गर्दा शोध समस्याको संक्षिप्त परिचय, सम्भावित शोध समस्याको संक्षिप्त कथन, शोधका सम्भावित उद्देश्य, प्राक्कल्पना, पूर्वकार्यको संक्षिप्त समीक्षा, शोध विधि, शोधकार्यको औचित्य वा महत्त्व, शोध सीमाहरु, लागत, र समयावधि उल्लेख गर्न सकिन्छ । हुनत, शैक्षिक शोधमा समयावधि र लागत शीर्षक आवश्यक हुँदैन तर सरकारी, गैर सरकारी अनुसन्धान र लघु अनुसन्धानहरुमा भने यसलाई अनिवार्यतः उल्लेख गर्नु पर्ने प्रावधान हुन्छ ।[७]
यी सबै विषय वस्तुलाई केवल तीन भागमा विभाजन गर्न सकिन्छ[८]

प्रारम्भिक भाग

निम्नलिखित कुराहरू समावेश गर्नु पर्छ

  • शोध शीर्षक,
  • प्रस्तुत गर्नेको नाम
  • प्रस्ताव प्रस्तुत गरेको निकाय
  • मिति
  • संक्षिप्त शब्द सूची,
  • विषय सूची
  • अन्य प्राथमिक कुराहरू

मूल भाग

  • प्रस्तावित शोधको परिचय
  • प्रस्तावित शोध समस्या
  • साहित्यको संक्षिप्त अवलोकन
  • प्रस्तावित शोध विधि,
  • शोध प्रबन्धको सम्भावित रुपरेखा (अध्याय विभाजन),

अन्तिम भाग

सन्दर्भ ग्रन्थ सूची यस भागको महत्त्वपूर्ण सामग्री हो । यस बाहेक परिशिष्ट, अनुक्रमणिका, चित्र वा अन्य सामग्री पनि राख्न सकिन्छ ।

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्ताव

त्रि.वि.वि. अर्थशास्त्र विभागको शोध प्रस्तावमा निम्नलिखित पांच मुख्य विषय वस्तु स्पष्ट गरिएको हुनु पर्छ[९]

  • शीर्षक छनौट,
  • समस्याको पहिचान,
  • सम्बन्धित साहित्यको समीक्षा,
  • शोध विधि,
  • सन्दर्भ ग्रन्थ

अर्थ शब्दका पर्यायवाची

नेपालीमा भनिने अर्थशास्त्र र अंग्रेजीको इकानोमिक्समा थोरै अन्तर छ । नेपाली विषय अर्थशास्त्र संस्कृत अर्थशास्त्रबाट व्युत्पन्न हो । यस शब्दको पहिलो प्रयोग कौटल्यले गरेका हुन् । अमरकोशमा अर्थ शब्दका १३ वटा पर्यायवाची दिइएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन (आर्थिक वस्तु), वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । [१०] तर आधुनिक अर्थशास्त्र विषय यति विस्तृत छैन । यो निम्नलिखित चार कुरामा आधारित छ–

  1. धन, सम्पत्ति, ऐश्वर्य,
  2. विनिमयको माध्यम,
  3. मूल्यका रूपमा दिइने मुद्रा (जस्तै रुपैया“, डलर, पौण्ड, युरो इत्यादि) वा सुन, चाँदी आदि,
  4. मूल्य निर्धारित द्रव्य ।

संक्षेपमा, अर्थशास्त्र एक सामाजिक विज्ञान हो जस अन्तर्गत वस्तु तथा सेवाहरूको उत्पादन, वितरण तथा उपभोग, देशको आर्थिक विकास र मानिसको आर्थिक कल्याणबारेको अध्ययन गरिन्छ। हुनत, अर्थशास्त्र एक आधुनिक विषयको रुपमा चिनिन्छ, तर कौटिल्य, शुक्र आदि प्राच्य विचारकहरूले अर्थशास्त्र विषयलाई परिभाषित गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने यो विषय प्राचीनकालमा पनि विकसित थियो तर त्यसको स्वरुप भने प्राचीनकालमा केही फरक थियो । प्राचीन चिन्तकहरूमध्ये अरिस्टोटलको समकालीन विचारक कौटिल्यले अर्थशास्त्र नाम गरेको विशाल ग्रन्थ नै रचना गरेका छन् । उनले आफ्नो ग्रन्थमा अर्थशास्त्रका दुई जना प्राचीन आचार्य शुक्र र बृहस्पतिको उल्लेख गरेका छन् ।[११][१२]

अर्थशास्त्रको परिभाषा–कौटिलीय

कौटिलीय अर्थशास्त्रमा ‘मनुष्याणां वृत्तिरर्थः भनेर मानिसहरूको वृत्तिलाई पनि अर्थ भनिएको छ । कौटिलीय परिभाषामा प्रयोग गरिएको शब्द पालनले केवल रक्षा भन्ने अर्थ व्यक्त गर्दैन यसको अर्थ होे सतत वृद्धि । यसका साथै ‘मनुष्यवती भूमिरित्यर्थः भनेर श्रमको उत्पादकतालाई आर्थिक सम्पन्नताको बलियो आधार मानिएको छ । श्रमको उत्पादकतामा वृद्धि हुनु भनेको एकातिर उत्पादनको स्तरमा वृद्धि हुनु हो भने अर्कोतिर स्वयं श्रमिकको आयमा पनि वृद्धि हुनु हो ।[१३] [१४]

कौटिलीय अर्थशास्त्रमा प्रयोग गरिएको ‘अर्थशास्त्र शब्दलाई फरक फरक अनुवाद गरेको पाइन्छ । डी डी कोशाम्बीले साइन्स अफ् मेटेरियल गेन [१५], ए एल बैशमले अ ट्रीटाइज अन् पोलिटी [१६], जी पी सिंहले अ साइन्स अफ् पोलिटि [१७], रङ्गराजनले साइन्स अफ् वेल्थ एन्ड वेलफेयर, रोजर बोशेले साइन्स अफ् पोलिटिकल इकोनोमी, हेनरिक जिम्मरले यूनिवर्सल लज् अन् पोलिटिक्स, इकोनोमिक्स, डिप्लोमेसी एन्ड वार [१८] अनुवाद गरेका छन् । आर पी काङ्लेले साइन्स अफ् पोलिटिक्स [१९]तथा अर्थशास्त्री अमत्र्य सेनले इन्स्ट्रक्शन्स अन् मेटेरियल प्रोस्पेरिटी भनी अनुवाद गरेका छन् ।[२०] यस सम्बन्धमा अर्थशास्त्रीहरू सेन र बसुले के भनेका छन् भने अंग्रेजी इकोनोमिक्सको संस्कृत रुपान्तर अर्थशास्त्र हुनसक्छ तर संस्कृत अर्थशास्त्रको अंग्रेजी रुपान्तर इकोनोमिक्स हुन सक्दैन किनभने संस्कृत अर्थशास्त्र शब्दको क्षेत्र, विषय वस्तु र इतिहास यूरोपियन अर्थशास्त्रीहरूको परिकल्पनाभन्दा निकै विस्तृत र प्राचीन छ ।[२१] अर्थशास्त्री बोकाडेका अनुसार, आर्थिक विचारधाराको इतिहासमा कौटिलीय र शुक्रकृत परिभाषा सबभन्दा पुराना र प्रथम दुइ परिभाषाहरू हुन् । [२२] कौटिलीय परिभाषा अर्थशास्त्रको मौलिक स्वरुपमा केही फरक भए तापनि त्यस बेला दिइएका अर्थशास्त्रका जुन परिभाषा छन् तिनीहरु आधुनिक अर्थशास्त्र विषय अनुरुप छन् । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई यसप्रकार परिभाषित गरेका छन्– मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति ।

अर्थ– मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो । [२३]

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन्–

  1. मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो ।
  2. कृषिका लागि प्रयोग गरिने तथा मानिसहरू बसोबास गरिएको भूमि व्यक्ति र राज्यका आयको स्रोत हो ।
  3. अर्थशास्त्रमा विभिन्न स्रोतबाट प्रात गर्ने प्रतिफलको अध्ययन गरिन्छ ।
  4. यसका साथै त्यसका वृद्धिका उपायहरू पनि व्याख्या गरिन्छ ।[२४]

अर्थशास्त्रको परिभाषा– शुक्र

शुक्रनीति ग्रन्थमा अर्थशास्त्र विषयलाई यस प्रकार परिभाषित गरिएको छ श्रुतिस्मृत्यविरोधेन राजवृत्तादिशासनम् ।

सुयुक्त्यार्थार्जनं यत्र ह्यर्थशास्त्रं तदुच्यते ।।

अर्थ– वेदस्मृतिले बताएका नियमहरू अन्तर्गत रही राजकाजको संचालन र उत्कृष्ट विधिले धन आर्जन गर्ने कुरा जुन शास्त्रमा अध्ययन गरिन्छ त्यो नै अर्थशास्त्र हो । [२५]

यस परिभाषाका मुख्य विशेषता यस प्रकार छन् :-

  1. अर्थशास्त्र मानवीय व्यवहारको अध्ययन हो ।
  2. परम्परागत ज्ञान (वेद) तथा प्रचलित कानुन (स्मृति) मा विरोध नपर्ने गरी आर्थिक क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।
  3. अर्थशास्त्र राजकीय प्रशासनसंग पनि सम्बन्धित छ ।
  4. आदर्शतम स्तरको उत्पादन प्राप्त हुने गरी क्रियाकलाप सम्पन्न गर्नु पर्छ ।

यस प्रकार शुक्रको परिभाषाले युक्तिपूर्वक आदर्शतम उत्पादन गर्न जोड दिएको छ ।

अर्थशास्त्रका आधुनिक परिभाषाहरू

अर्थशास्त्र विषयका परिभााषाहरूलाई सर्वप्रथम फ्रेजरले वर्गीकरण गरेका हुन् ।[२६] रबिन्सले परिभाषाको आधुनिकीकरण गरे पछि परिभाषाहरुलाई तीन भागमा विभाजन गर्ने प्रचलन सुरु भयो– १. धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक २. भौतिक कल्याण सम्बन्धी परिभाषा– अलफ्रेड मार्शल र उनका समर्थक ३. दुर्लभता सम्बन्धी परिभाषा– लियोनल चाल्र्स रबिन्स र उनका समर्थक

१.धनसम्बन्धी परिभाषा– एडम स्मिथ र उनका समर्थक

एडम स्मिथ (सन् १७२३–१७९०) र उनका अनुयायीहरु- जे बी से, एफ ए वाकर, जे एस मिल इत्यादिले अर्थशास्त्रलाई धनको विज्ञान मानेका छन् । स्मिथका प्रसिद्ध अनुयायी एवं आफ्नो युगका एक महान् शास्त्रीय (क्लासीकल) अर्थशास्त्री जे एस मिलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– अर्थशास्त्रले धनको प्रकृति तथा त्यसको उत्पादन र वितरणका नियमहरू, जसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ती सबै कारणहरूका प्रभावहरू पनि समावेश छ । यसबाट मनुष्य जाति वा कुनै मानव समाजको समृद्धिमा वृद्धि वा कमीको अध्ययन गर्दछ ।

२.भौतिक कल्याण सम्बन्धी परिभाषा– मार्शल र उनका समर्थक

मार्शल(सन् १८४२–१९२४)को परिभाषालाई आधुनिक परिभाषा भनिन्छ । मार्शलले अर्थशास्त्रलाई यसरी परिभाषित गरेका छन्– ‘राजनीतिक अर्थव्यवस्था वा अर्थशास्त्र सामान्य जीवनका व्यावसायिक क्रियाकलापको अध्ययन हो । यसले व्यक्ति र मानव समाजका क्रियाकलापको त्यस भागको विश्लेषण गर्दछ, जुन भौतिक कल्याणका साधनको प्राप्ति र त्यसको उपयोगस“ग घनिष्ठरूपमा सम्बद्ध छ । [२७] पीगू, क्यानन, पेन्सन इत्यादिले यस परिभाषाको समर्थन गरेका छन् । आज पनि आदर्शवादी अर्थशास्त्रका समर्थकहरुले यस परिभाषालाई उचित ठान्दछन् । मार्शलको परिभाषाका विशेषता यस प्रकार छन्–

  1. अर्थशास्त्र सामाजिक व्यक्तिका क्रियाकलापको अध्ययन हो ।
  2. मानिसको सामान्य क्रियाकलाप नै जीविकोपार्जनको आधार हो ।
  3. यो भौतिक कल्याणका साधनसँग सम्बन्धित छ ।

३.दुर्लभता सम्बन्धी परिभाषा– रबिन्स र उनका समर्थक

चार्ल्स लियोनेल रबिन्स (सन् १८९८–१९८४) ले दिएको परिभाषालाई अर्थशास्त्रको आधुनिक परिभाषा मानिन्छ । यस अनुसार– अर्थशास्त्र त्यो विज्ञान हो जसमा अनन्त आवश्यकता र वैकल्पिक प्रयोग हुने दुर्लभ साधन बीच मानवीय व्यवहारको अध्ययन गरिन्छ । [२८]मिल्टन फ्राइडम्यान, स्टोनियर, हेग, स्टिगलर आदि वास्तविक अर्थशास्त्रका समर्थक अनेक आधुनिक अर्थशास्त्रीहरुले रबिनसको परिभाषालाई समर्थन गरेका छन् । रबिन्सको परिभाषाका विशेषता यस प्रकार छन्–

  1. अर्थशास्त्रमा मानवीय व्यवहारको अध्ययन गरिन्छ ।
  2. यो असीमित आवश्यकता र सीमित साध्यका बीचको सम्बन्धको अध्ययन हो ।
  3. यसमा दुर्लभ साधनको किफायतपूर्ण उपयोगको अध्ययन गरिन्छ ।

अर्थशास्त्रको क्षेत्र विस्तार

आधुनिक समयमा अर्थशास्त्रीहरूले परिभाषा सम्बन्धी विवाद गर्दैनन् । किनभने यस विषयको विषयवस्तु ज्यादै विस्तृत भइसकेको छ । नयां नयां क्षेत्रहरूको प्रवेशले गर्दा आज अर्थशास्त्रलाई परिभाषित गर्नु अनावश्यक मानिन्छ । रबिन्सलाई परिभाषाको अन्तिम विवादको रुपमा स्याम्युएल्सन (सन् १९१५–२००९) ले पनि स्वीकार गरेका छन् । अहिले अर्थशास्त्र, शिक्षा, चिकित्सा, प्राकृतिक विज्ञान, इञ्जिनीयरिङ्ग लगायतका विषयहरूमा समेत अध्ययन अध्यापन गरिन्छ ।[२९]

अर्थशास्त्रका बिषयवस्तुहरू

सामान्यतया अर्थशात्रका मुख्य बिषयवस्तुहरू निम्न प्रकार रहेकाछन् ।

उत्पादन
अर्थशास्त्रले कुनै पनि वस्तुको उत्पादन कसरी गर्ने, उत्पादन गर्नमा श्रम र पुंजीको कसरी लगानी गर्ने, उत्पादन क्षमतामा ह्रास र वृद्धी कसरी हुनसक्छ, भन्ने बिषयमा राम्रो अध्यायन गराउँछ यसैले उत्पादनलाई अर्थशास्त्रको मुख्य बिषयवस्तु मानिएको छ ।
उपभोग
अर्थशास्त्रले श्रम र पुंजीको लगानीबाट उत्पादन गरिएको वस्तुलाई उपभोग गर्ने तरिका, उपभोगका आवस्यकता, आवस्यकताका प्रकार, आवस्यकताका नियम, उपभोग गर्दा देखा पर्ने उपयोगिताका नियमहरू, आदीको बारेमा गहिरो अध्यायन गराउँछ । यसैले उपभोगलाई पनि अर्थशास्त्रको मुख्य बिषयवस्तु मानिएको छ ।
विनिमय
अर्थशास्त्रले हरेक वस्तुको विनिमय दर, विनमय तरिका, मुद्रा विनिमय, बजार व्यवस्थापन, मुल्य निर्धारण, आदि विनिमय कार्यहरूको बिषयमा गहन अध्यायन गराउँछ । यसैले विनिमय अर्थशास्त्रको अर्को मुख्य बिषय वस्तु हो ।
वितरण
अर्थशास्त्रले वस्तुको विनिमयचका साथ साथ वितरण तरिका, वितरण हुने स्रोत, वितरण गरिने वस्तु, वितरण गर्ने व्याक्ति वस्तु आदिको बारेमा राम्रो जानकरी गराउँछ ।
राजस्व
अर्थशास्त्रले राज्वस्व संकलनका तरिकाहरू, राज्वस्व उपयोग, राज्वस्वको लगानी आदि राजस्व सम्बन्धी सम्पूर्ण जानकारीहरूको गहिरो अध्यायन गराउने भएकाले राजस्व पनि अर्थशात्रका विषत वस्तु अन्तर्गत पर्दछ ।
आर्थिक विकास
अर्थशास्त्रले आर्थिक विकासमा उत्पन्न हुने समस्या, आर्थिक विकासका पाटाहरू आदि आर्थिक विकासका बारेमा गहिरो जानकारी गराउँछ । तसर्थ आर्थिक विकास अर्थशास्त्रको एक अर्को बिषयवस्तु हो ।

अर्थशास्त्रका प्रकार

आर्थिक विचारको इतिहास अध्ययन गर्नेहरूले यस विषयलाई पूर्वीय अर्थशास्त्र, पाश्चात्य अर्थशास्त्र, वणिककादी अर्थशास्त्र, प्रकृतिवादी अर्थशास्त्र, क्लासिकल शास्त्रीय अर्थशास्त्र, नवक्लासिकल अर्थशास्त्र, उपयोगितावादी अर्थशास्त्र, गणितीय अर्थशास्त्र, संस्थानिक अर्थशास्त्र, समाजवादी अर्थशास्त्र आदि अनेक भागमा विभाजन गर्छन् । तर प्रसिद्ध अर्थशास्त्री रैगनार फ्रिश (सन् १९६९) ले नै सर्वप्रथम यस विषयलाई माइक्रो र म्याक्रो दुई भागमा विभाजन गरेका हुन् भौतिक विज्ञानको यो शब्दावली अर्थशास्त्रमा ज्यादै लोकप्रिय बनेको छ–

  1. माइक्रो अर्थशास्त्र,
  2. म्याक्रो अर्थशास्त्र

माइक्रो अर्थशास्त्र

माइक्रो अर्थशास्त्रलाई व्यष्टि अर्थशास्त्र वा सूक्ष्म अर्थशास्त्र भनिन्छ । व्यष्टिको अर्थ हुन्छ सबभन्दा सानो पूर्ण एकाई । त्यसर्थ जुन अर्थशास्त्रमा व्यष्टि आर्थिक चलराशि जस्तै व्यक्तिगत उपभोक्ताको व्यवहार, व्यक्तिगत फर्मको व्यवहार र यससंग सम्बन्धित समस्याहरुको अध्ययन गरिन्छ । यसमा वस्तु तथा साधनहरुको मूल्य निर्धारण गरिने भएकोले यसलाई मूल्य सिद्धान्त वा फर्मको सिद्धान्त पनि भनिन्छ ।

माइक्रो अर्थशास्त्रको विषय वस्तु

१. वस्तु मूल्य निर्धारण

२. साधनको मूल्य निर्धारण

३. आर्थिक कल्याण

म्याक्रो अर्थशास्त्र

म्याक्रो अर्थशास्त्रलाई समष्टि अर्थशास्त्र वा वृहद अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ व्यष्टि संरचनाहरुको योगको रुपमा निर्मित एक वृहद संरचना । त्यसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टि चलराशिहरू तथा तिनीहरुका व्यवहारको अध्ययन गरिन्छ । समष्टि चलराशिमा अर्थव्यवस्थाको कुल माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरू पर्दछन् । समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उतपदन वा रोजगारको निर्धारणको बारेमा अध्ययन गरिने भएकोल यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषय वस्तु

१. आय र रोजगार निर्धारण

२. मूल्य स्तरको सिद्धान्त

३. आर्थिक वृद्धिको सिद्धान्त

ग्रन्थ सूची

  1. स्मिथ, एडम,सन् १९३७,एन् इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ् द वेल्थ अफ् नेशन्स, क्याननन्स एडिशन, न्युयोर्क ः मोडर्न लाइब्रेरी ।
  2. सेठ, एम एल, सन् १९९२,प्रिन्सिपल्स अफ् इकोनोमिक्स, आगरा लक्ष्मी नारायण अग्रवाल।
  3. शर्मा, गोपाल सन् १९६८, सामाजिक विज्ञानों की पारिभाषिक शब्दावलीका समीक्षात्मक अध्ययन, दिल्ली ः एस चन्द एण्ड कम्पनी ।
  4. म्याकमिलन,सन् १९५४, इन्साइक्लोपीडिया अफ् द सोशल साइन्सेज, न्युयोर्क म्याकमिलन कम्पनी ।
  5. मार्शल, अल्फ्रेड, १९४९, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, लन्दन: म्याकमिलन।
  6. अमरकोश, सं. पं. कुलचन्द गौतम, वाराणसी ः पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय, मिति ?
  7. ज्ञवाली, बाबु राम, २०१२, पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी, रुपन्देही,नेपाल: ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-5285
  8. वैश्य, एम सी, १९९३, आर्थिक विचारोंका इतिहास, आगरा: विनोद प्रकाशन मन्दिर ।
  9. जायसवाल, के पी, १९७८, हिन्दु पोलिटी (फिफ्थ एडिशन ed.), बेंगलोर: द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि.।
  10. शुक्रनीति,सन् २०००, सम्पा.उमेशपुरी ज्ञानेश्वर, हरिद्वार ः रणधीर प्रकाशन ।
  11. कोशाम्बी, डी डी,१९६५,द कल्चर एन्ड सिभिलाइजेशन अफ् एन्शेन्ट इन्डिया, लन्दन राउटेल्ज एन्ड केगन पाल ।
  12. बैशम, ए एल,२००४, द वन्डर द्याट वाज इन्डिया, लन्डन, पिकाडोर, ISBN 0-330-43909-X
  13. सिंह, जी पी, सन् १९९३, पोलिटिकल थट इन एन्शेंट इन्डिया,न्यु देल्ही डी के प्रिन्टवुड ।
  14. जिम्मर, हेनरिक, सन् १९६७, फिलोसोफीज अफ् इन्डिया, प्रिन्स्टन न्युजर्सी ।
  15. द कौटिलीय अर्थशास्त्र,सन् २००६, भो.१-३, अनु. आर पी काङ्ले, बनारस ः मोतीलाल बनारसी दास ।
  16. सेन, आर के एन्ड आर एल बसु,सन् २००६, इकोनोमिक्स इन् अर्थशास्त्र, न्यु दिल्ली ः दीप एन्ड दीप ।
  17. बोकाडे, एम जी, सन् २००९, हिन्दु इकानोमिक्स्, एम जी बोकाडे फाउन्डेशन, पुणे ।
  18. कौटिल्यको अर्थशास्त्र (कौटिलीये अर्थशास्त्रे), वि.सं.२०२४,अनु. केशवराज अर्याल, सं.पं.सोमनाथ शर्मा, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  19. कौटिलीय अर्थशास्त्रम्,सन् १९६७, अनु.वाचस्पति गैरोला, वाराणसी ः चौखम्बा विद्याभवन, सन् २००९ ।
  20. कौटिलीयम् अर्थशास्त्रम् खण्ड १–३, सं. रघुनाथ सिंह, वाराणसी ः चौखम्बा संस्कृत सीरीज, ।
  21. ज्ञवाली, बाबु राम, सन् २०१२, इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, रुपन्देही ः ज्ञानज्योति प्रकाशन, ISBN 978-9937-2-7363 ।
  22. झिंगन, एम एल (१९७५), उच्चतर व्यष्टिगत आर्थिक सिद्धान्त, भारत: विकास पब्लिशिंग हाउस ।
  23. अलफ्रेड मार्शल, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, एट्थ एडिशन,लन्दन ः म्याकमिलन, सन् १८९०।
  24. लियोनेल रबिन्स, नेचर एन्ड सिगनिफिकेन्स अफ् इकोनोमिक साइन्स, लन्दनः म्याकमिलन एन्ड कम्पनी, सन् १९४५ ।

सन्दर्भ सामग्रीहरू

  1. "GDP (Official Exchange Rate)", World Bank, अन्तिम पहुँच अगस्ट २४, २०१५
  2. एडम स्मिथ, एन् इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ् द वेल्थ अफ् नेशन्स, क्याननन्स एडिशन (न्युयोर्क ः मोडर्न लाइब्रेरी, सन् १९३७
  3. एम एल सेठ, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, (आगरा लक्ष्मी नारायण अग्रवाल, सन् १९९२), पृ. १
  4. गोपाल शर्मा, सामाजिक विज्ञानों की पारिभाषिक शब्दावलीका समीक्षात्मक अध्ययन, (दिल्ली ः एस चन्द एण्ड कम्पनी, सन् १९६८), पृ. २२०
  5. इन्साइक्लोपीडिया अफ् द सोशल साइन्सेज, (न्युयोर्क म्याकमिलन कम्पनी, सन् १९५४
  6. मार्शल, अल्फ्रेड (१९४९). प्रिन्सिपल्स अफ् इकोनोमिक्स. लन्दन: म्याकमिलन. प॰ १.
  7. कुमार, रंजित, सन् २००५, रिसर्च मेथोडोलोजी– अ स्टेप बाइ स्टेप गाइड फर बिगिनर्स, लन्दन, न्यु दिल्ली ः सेज पब्लिकेशन्स लिमिटेड ।
  8. राय, पारसनाथ, सन् १९९१, अनुसन्धान परिचय, आगरा ः लक्ष्मीनारायण अग्रवाल ।
  9. opic Selection, Matter Collection and Literature Review in a Scientific Research, Butwal Multiple Campus, Butwal, Mrch 12, 2006
  10. अमरकोश, द्वितीय काण्ड, पंक्ति १८८६–८७
  11. ज्ञवाली, बाबु राम (२०१२). पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी. रुपन्देही,नेपाल: ज्ञानज्योति प्रकाशन. प॰ १-१३. .
  12. वैश्य, एम सी (१९९३). आर्थिक विचारोंका इतिहास. आगरा: विनोद प्रकाशन मन्दिर. प॰ ५४६.
  13. जायसवाल, के पी (१९७८). हिन्दु पोलिटी (फिफ्थ एडिशन संस्करण). बेंगलोर: द बेंगलोर प्रिटिंग एन्ड पब्लिशिंग कम्पनी लि..
  14. शुक्रनीति, सम्पा.उमेशपुरी ज्ञानेश्वर, (हरिद्वार ः रणधीर प्रकाशन, सन् २०००), ४.३७
  15. डी डी कोशाम्बी, द कल्चर एन्ड सिभिलाइजेशन अफ् एन्शेन्ट इन्डिया, (लन्दन राउटेल्ज एन्ड केगन पाल, १९६५) पृ. १४
  16. ए एल बैशम, द वन्डर द्याट वाज इन्डिया,
  17. जी पी सिंह, पोलिटिकल थट इन एन्शेंट इन्डिया (न्यु देल्ही डी के प्रिन्टवुड, सन् १९९३
  18. हेनरिक जिम्मर, फिलोसोफीज अफ् इन्डिया, (प्रिन्स्टन न्युजर्सी ः सन् १९६७), पृ. ३६
  19. द कौटिलीय अर्थशास्त्र–३, पूर्ववत्, पृ. ३
  20. विकीपीडिया,
  21. आर के सेन एन्ड आर एल बसु, इकोनोमिक्स इन् अर्थशास्त्र, ( न्यु दिल्ली ः दीप एन्ड दीप, सन् २००६), पृ. १
  22. बोकाडे, एम जी, सन् २००९, हिन्दु इकानोमिक्स्, एम जी बोकाडे फाउन्डेशन, पुणे, पृ. ९०
  23. कौटलीय अर्थशास्त्र, १५.१.१८०
  24. बाबु राम ज्ञवाली, इकोनोमिक्स अफ् कौटिल्य, शुक्र एन्ड बृहस्पति, (रुपन्देही ः ज्ञानज्योति प्रकाशन, सन् २०१२), पृ. १८
  25. शुक्रनीति, ४.३.५६
  26. झिंगन, एम एल (१९७५). उच्चतर व्यष्टिगत आर्थिक सिद्धान्त. भारत: विकास पब्लिशिंग हाउस.
  27. अलफ्रेड मार्शल, प्रिन्सिपल्स अफ् इकोनोमिक्स, एट्थ एडिशन (लन्दन ः म्याकमिलन, सन् १८९०) पृ. १
  28. लियोनेल रबिन्स, नेचर एन्ड सिगनिफिकेन्स अफ् इकोनोमिक साइन्स, (लन्दनः म्याकमिलन एन्ड कम्पनी, सन् १९४५), पृ. १६
  29. Micro Economy

यो पनि हेर्नुहोस्

  • अर्याल, मदन प्रसाद, विदुर, चाणक्य र भर्तृहरिका नीतिहरू, काठमाडौं ः रमादेवी अर्याल, वि.सं.२०६३ ।
  • उबाना, नरेन्द्रजी, कौटल्यकी अनूठी नीतिया“, कल्याण, नीतिसार अङ्क, गोरखपुर ः गीताप्रेस, वि.सं २०५९ ।
  • कामन्दकीय नीतिसार, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि.सं.२०२९ ।
  • चाणक्य नीति दर्पण, (अनु.) तुलसीराम आचार्य, वाराणसी ः दुर्गा साहित्य भण्डार, नेपाली खपडा, मिति ? ।
  • जायसवाल, के पी, हिन्दु पोलिटी, (फिफ्थ एडिशन), बेंगलोर ः द बेंगलोर प्रिन्टिंग एन्ड पब्लिशिंग कम्पनी लि. सन् १९७८ ।

बाह्य लिङ्कहरू

  • Marshall, Alfred
  • Robbins, Lionel
  • Boeche, Roger
अर्थ

संस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि ।

यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्य कोष्ठमा उल्लेख गरिएको छ– द्रव्य (बहुमूल्य पदार्थ), वित्त (आय स्रोत), स्वापतेय (व्यक्तिगत धन), रिक्थ (उत्तराधिकारमा पाएको धन), ऋक्थ (प्रभाव), धन, वसु (मूल्यवान्, असल), हिरण्य (सुन र सुनले बनेको), द्रविण (बल, सार), द्युम्न (आभा, कीर्ति, उत्साह), अर्थ (तात्पर्य), रा (शान, शौकत), विभव (सम्पन्नता) । यीमध्ये १० वटा नपुंसकलिंगी र तीनवटा पुल्लिंगी छन् ।

संक्षेपमा अर्थका पर्यायलाई तीन भागमा विभाजन गर्न सकिन्छ– १. धन, २. भावार्थ, र ३. शक्ति ।

अमरकोशको नामार्थ वर्गमा भने स्व र सत्व यी धनवाची बताइएका छन् । अर्थ शब्दको शब्दार्थ भने यस प्रकार उल्लेख छ– अर्थोSभिधेयरैवस्तुप्रयोजन निवृत्तिषु, अर्थात् कुनै पद वाक्यको अभिप्राय जस्तै, घट भनेको घडा, धन, कुनै वस्तु, लक्ष्य, प्रयोजन, उद्देश्य, निवृत्ति, कार्य सम्पन्न हुनु ।

स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्sस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय गरी चार नाम हुन्)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।

एडम स्मिथ

एडम स्मिथ एक स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनीतिक अर्थशास्त्री थिए। उनलाई अर्थशास्त्रको पितामह पनि भनिन्छ। आजको लोकप्रिय विषय अर्थशास्त्र ज्ञानको रुपमा ज्यादै प्राचीन भए तापनि एक विषयको रुपमा यसको सुरुआत एडम स्मिथ पछि नै स्वीकार गरिएको छ । जसले आर्थिक क्रियाकलापमा मानवीय स्वार्थलाई ज्यादै स्पष्ट रुपमा व्याख्या गरे । यिनै महान विचारक र अर्थशास्त्री को जन्म ५ जून सन् १७२३ मा स्कटल्याण्डको किर्काडी भन्ने ठाउँमा भएको थियो । त्यस स्थानमा उनका पिता सीमा कर अधिकारीको पदमा कार्यरत थिए । स्मिथ जन्मनु तीन महिना अघि उनका पिताको स्वर्गवास भइसकेको थियो । यसरी उनी गर्भे टुहुरा हुन पुगेका थिए ।

स्मिथको पालन पोषण र शिक्षा दीक्षा विधवा आमाको वात्सल्यपूर्ण वातावरणमा भएको थियो । स्मिथकी आमा एक विदुषी महिला थिइन् । जसको जीवनको गहिरो प्रभाव उनको जीवनमा परेको थियो ।

स्मिथको प्रारम्भिक शिक्षा स्थानीय स्कूलमा भएको हो । पन्ध्रवर्ष भन्दा पनि कम उमेरमा अर्थात् स्कूल अध्ययनको अवधिमा उनले उच्चकोटिका साहित्यिक ग्रन्थ र गणित को ज्ञान हासिल गरिसकेका थिए । साहित्य र गणितको राम्रो ज्ञान भएकाले उनले ग्लासगो कलेजमा सजिलै भर्ना हुन पाएका थिए । सन् १७४० सम्म उनले त्यही कलेजमा अध्ययन गरे । सन् १७०० सम्म उनले त्यही कलेजमा अध्ययन गरे ।

ग्लासगो कलेजको चार वर्षको अवधि स्मिथका जीवनको अविस्मरणीय घटना हुन पुग्यो । किनभने उनले त्यहां असल विद्यार्थी र विद्वान शिक्षकको संगतमा धेरै कुराहरु सिक्ने मौका पाए । त्यहां फ्रांसिस हचेसनको प्रभाव उनमा विशेष परेको थियो । त्यहां उनले अन्य चारजना विद्यार्थी सहित अक्सफोर्ड विश्वविद्यालयमा उच्च शिक्षाकालागि छात्रवृत्ति पाए । यो छात्रवृत्ति ४० पौण्डको थियो । जुन विशेष योग्य विद्यार्थीलाई प्रदान गरिन्थ्यो ।अक्सफोर्ड विश्वविद्यालयको वेलियल कलेजमा उनले सन् १७४० देखि सन् १७४६ सम्म अध्ययन गरे । अध्ययनका लागि ग्लासगोबाट अक्सफोर्ड जांदा उनले ४०० माइलको दूरी घोडामा चढेर पूरा गरेका थिए । स्कटल्याण्डको सीमा पार गरी इंग्ल्याण्डको सीमा भित्र प्रवेश गर्दा उनी इंग्ल्याण्डका कृषिको उन्नत र समृद्ध आर्थिक अवस्थाको गहन अध्ययन गरे । यसैको प्रभाव उनको पुस्तक वेल्थ अफ नेशन्समा देख्न पाइन्छ ।

अक्सफोर्डमा अध्ययनरत रहंदा स्मिथले ग्लासगोमा जस्तै असल विद्यार्थी शिक्षकहरुको संगत प्राप्त गर्न सकेनन् । यसको फलस्वरुप उनी एकान्तप्रेमी भइ अझ गहन अध्ययनमा लागे । अक्सफोर्डको अनुभव स्मिथकालागि रमाइलो नरहेको कुरा उनी स्वयंले स्वीकारेका छन् । सन् १७४६ मा बी.ए.को उपाधि प्राप्त गरेपछि स्मिथ फेरि आफ्नो जन्म स्थान किर्काडीमा फर्के । सन् १७५०को अवधिसम्म उनले आफ्नी आमाको सान्निध्यमा रहेर स्वाध्याय गरे । यसबेला उनले तर्कशास्त्र, साहित्य र आर्थिक विषयमा लेखहरु लेखे । यी लेखहरु त्यसबेला निकै चर्चित रहे । जसले गर्दा स्मिथको प्रसिद्धि बढ्यो ।

लगभग १०० वर्ष पछि जे एस मिलले एडम स्मिथको वेल्थ अफ नेशन्सको पुनः सम्पादन र प्रकाशन गरेर यसको प्रसिद्धिलाई निरन्तरता दिए ।

कीन्सीय अर्थशास्त्र

केन्सीय अर्थशास्त्र एक नयां अवधारणा हो ।

विश्वमा क्लासिकल (शास्त्रीय) अर्थशास्त्रको प्रचलन लामो समयसम्म रह्यो । जे बी सेको बजार नियम- पूर्तिले आाफ्नो माग आफैं सिर्जना गर्छ भन्ने कुरामा विश्वका सबै अर्थशास्त्रीहरुले विश्वास गर्दै आएका थिए तर सन् १८२९ देखि प्रारम्भ भइ सन् १९३२ सम्म ठूलो आर्थिक मन्दी फैलियो । उत्पादित वसतुले आफ्नो माग आफै. सिर्जना गर्न सकेन । वसतुको मूल्य आफैं संयोजन भइ बजार सन्तुलनमा हुन्छ भन्ने सिद्धान्त असफल भयो । बजारमा वसतुको मूल्य घटाउंदा पनि तिनीहरुको माग बढ्न सकेन ।

यस्तो समयमा केन्सले एक नयां सिद्धान्त प्रस्तुत गर्दै पूर्तिले आफ्नो माग सिर्जना गर्दैन बरु मागले पूर्ति सिर्जना गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे ।

उनले बजारमा कम मूल्यमा पनि सामान किन बिकेन भन्ने कुराका लागि उनले समर्थ मागको सिद्धान्त प्रसतुत गरे ।

उनले कुल आय र कुल व्यय बराबर हुन सक्दैनन् किनभने मानिसहरुले केही बचत गर्छन् भन्ने सिद्धान्त प्रतिपादन गर्दै बचतले समर्थ मागमा कम िल्याउने हुंदा सरकारले हस्तक्षेप गरेर लगानी खर्च र बचत आपसमा बराबर बनाउने प्रयास गर्नु पर्दछ भन्दै लासेज फेयर अहस्तक्षेप नीतिभन्दा फरक विचार प्रस्तुत गरे । यी सबै विचारलाई केन्सीयन अर्थशास्त्र भनिन्छ । यसलाइृ पछि म्याक्रो अर्थशास्त्र, समष्टि अर्थशास्त्र वा वृहद् अर्थशास्त्र भनिन्छ ।

चाणक्य

चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ।

मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ। बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ। चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए। वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ। वहाँ त्यससमयका एक प्रसिद्ध विद्वान थिए। वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे।

धन

धन अर्थ शब्दको पर्यायवाची हो । धनले नगद, जिन्सी र अन्य सम्पत्तिलाई बुझाउंछ । अर्थशास्त्रमा धन शब्दको विशेष अर्थममा प्रयोग गरिन्छ । कुनै वस्तु धन हुन त्यसमा निम्नलिखित तीन गुण हुनु पर्दछ–

१. उपयोगिता

२. दुर्लभता

३. हस्तान्तरीयता

नव-चिरसम्मत अर्थशास्त्र

नवक्लासिकल वा नवशास्त्रीय विचारको प्रतिपादन प्रसिद्ध अर्थशास्त्री अलफ्रेड मार्शलले गरेका हुन् ।

नोबेल पुरस्कार

नोबेल पुरस्कारको स्थापना सन् १८९५ मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । नोबेल फाउण्डेशन द्वारा स्वीडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, क्रिया विज्ञान तथा चिकित्सा, र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाईयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति स्वीडिस बैंकमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्यां हेनरी ड्युना र फ्रेंच पीस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो।

शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कारहरु स्टोकहोल्म, स्वीडेनबाट प्रदान गरिन्छ ।

मनुस्मृति

मनुस्मृति वा मानव-धर्म-शास्त्र वा मनुसंहिता लाई प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रन्थकारहरूका अतिरिक्त शंकराचार्य शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रन्थलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव मनुद्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रूप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।

मनुस्मृतिमा कल्याणकारी राज्य संचालनका नीतिहरू उल्लेख छन् । यसमा राजकीय समृद्धिको आधारका रूपमा कोषको संचालन, सुरक्षा, किफायतपूर्ण उपयोग र सार्वजनिक कल्याणका कामहरूको विवरण प्रस्तुत गरिएको छ । काङ्लेका अनुसार कौटिलीय अर्थशास्त्रमा मानवाः भनी उल्लेख गरेको र महाभारतमा प्रचेतस मनु भनिएको व्यक्ति एउटै हो तर स्वायम्भू मनु जसलाई मनुस्मृतिको रचनाकार पनि मानिन्छ त्यो अर्कै व्यक्ति हो । प्रचेतस मनुको रचना लोप भइसकेको अनुमान पनि उनको छ । रङ्गराजनले काङ्लेका यस विचारको अनुमोदन गरेका छन् । धम्मपद्, कौटिलीय अर्थशास्त्र र वाल्मीकि रामायणमा मनुस्मृतिका श्लोकहरू उदधृत गरिएका छन् ।

मनुस्मृति त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।

मुद्रा

धातुबाट बनेका सिक्का वा रूपियाँ पैसालाई मात्र मुद्रा भन्ने चलन छ ।

मुद्रा स्फिती

वस्तु तथा सेवाहरुको सामान्य स्तरमा हुने दिगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ | मुद्रास्फीतिको समयमा मुद्राको क्रय क्षमतामा कमि आउछ |

अर्थशास्त्र अनुसार मुद्रा स्फिती बस्तु तथा सेवाको मूल्यमा हुने चढावलाई बुझिन्छ । सामान्य अर्थमा मुद्राको क्रय शक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमिलाई मुद्रा स्फितीले जनाउँदछ । उदाहरणको लागी विक्रम सम्बत २०२० मा रू. ५ मा १०० किलो चामल किन्न सकिन्थ्यो भने विक्रम सम्बत २०७१ मा १०० किलो चामलको मूल्य करिब रू ५००० भएको छ, जुन मुद्रा स्फितीको कारणले भएको हो ।

राजनीतिक अर्थशास्त्र

राजनीतिक अर्थशास्त्र (Political Economy)को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रुपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन ।

उन्नाइसौं शताब्दीमा विचारकहरुले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु“दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र (Social Economics) भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ“ शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तक मान्न सकिन्छ । अर्थशास्त्र शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन

पछि विद्वान्हरूले यस विषयलाई वेल्थ, प्लुटोलोजी, क्रेमाटिस्टिक्स, क्याटेलेक्टिक्स, पोलिटिकल इकोनोमी आदि नामकरण गर्ने प्रयास गरे । अठारौ“ शताब्दीभर यस विषयको नाम पोलिटिकल इकोनोमी वा राजनीतिक अर्थशास्त्र नै रह्यो ।

रैग्नर फ्रिश

रैगनार फ्रिश अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो अर्थशास्त्री हुन् । उनीलाई जन टिनबर्जेनका साथ सन् १९६९ मा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

यी दुवैलाई अर्थशास्त्रमा शुद्ध विज्ञानका प्रविधि, शब्द र गणितीय उपकरण प्रयोग गरिएकोमा विशेष योगदान गरे बापत यो पुरस्कार दिइएको हो । व्यष्टि अर्थशास्त्र (माइक्रो अर्थशास्त्र) र समष्टि अर्थशास्त्र (म्याक्रो अर्थशास्त्र) शब्दको प्रयोग सर्वप्रथम फ्रिशले गरेका हुन् ।

अर्थशास्त्रलाई गतिशील (डाइनैमिक) दृष्टिकोणलाई समावेश गरेर अर्थशास्त्रलाई एक विशेष क्षेत्रमा विकसित गराउने श्रेय पनि यी दुवैलाई जान्छ ।

वेद

वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेद बाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् ।

वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो।

वेद शब्द संस्कृत भाषाको "विद्" धातु बाट बनेको हो जसको अर्थ हो: जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुति पनि भनिन्छ, किनकि पहिले मुद्रणको व्यवस्था नभएकाले यिनको एक अर्का बाट सुनेर सम्झना राखियो यसप्रकार वेद प्राचीन भारतको वैदिक कालको वाचिक/श्रुति = श्रवण परम्पराको अनुपम कृति हो जुन पीढी दर पीढी चार-पाँच हजार वर्ष देखि चली आइ रहेको छ। वेद नै हिन्दू धर्मको सर्वोच्च र सर्वोपरि धर्मग्रन्थ हो ।

श्रुति

श्रुति हिन्दू धर्मका सर्वोच्च र सर्वोपरि धर्मग्रन्थहरूको समूह हो। धर्मशास्त्रका लेखकहरूले श्रुतिलाई धर्मको सबैभन्दा महत्त्वपूर्ण श्रोत मानेकाछन्। यसमा चार वेद पर्छन् : ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद। प्रत्येक वेदका चार भाग हुन्छन् : संहिता, ब्राह्मण-ग्रन्थ, आरण्यक र उपनिषद्।

अर्थशास्त्र
समष्टि अर्थशास्त्र
व्यष्टि अर्थशास्त्र
उपविषय
मैथडोलजीस
अर्थशास्त्र को इतिहास
विख्यात
अर्थशास्त्री

अरु भाषामा

This page is based on a Wikipedia article written by authors (here).
Text is available under the CC BY-SA 3.0 license; additional terms may apply.
Images, videos and audio are available under their respective licenses.